» नइ एकेडेमी नेपाल सरकारबाट आयकर छुट पाएको गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

नइको चिनारी


Home Page

नेपाली वाङ्‍‍मयको श्रीवृद्धिका लागि २०५२ साल माघ १५ गते नइ एकेडेमीको स्थापना भएको हो । यस संस्थाले २०५५ साल वैशाख १७ गते विधिवत् रुपमा सरकारी मान्यता पाएको थियो । स्रष्टाद्वय नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाईको नाउँका अगाडिका अक्षर जोडेर नइ एकेडेमी ‘नइ प्रकाशन’ नामक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्थाको स्थापना गरिएको हो ।

नइ एकेडेमी नेपाली वाङ्‍‍मयप्रेमीहरूको साझा चौतारी हो । यो संस्था ‘वसुधैव कुटुम्बकम्’को आदर्शमा आबद्ध छ । यस संस्थाले परम्परागत सांस्कृतिक मूल्य, मान्यता र धारणालाई सदैव शिरोपर गर्दै आएको छ । देशदेशान्तरका प्रतिभाको सम्मान गर्नु यस संस्थाको अर्को प्रमुख उद्देश्य रहेको छ ।

नइ एकेडेमी नेपाली मूल्य, मान्यता र संस्कृतिलाई अङ्गीकार गर्दै नेपाली प्रतिभाका सिर्जनात्मक कौशललाई सुन्दर एवं सुरुचिपूर्ण ढङ्गले प्रस्तुत गर्नसमेत अग्रसर हुँदै आएको छ ।

नेपाल राष्ट्र बैंकले २०७९ सालमा नइ प्रकाशनको लोगो अङ्कित एक सय रुपियाँको दस हजार थान स्मारिका सिक्का प्रकाशनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकबाट नेपाली साहित्यिक संस्थाका नाउँमा सिक्का टकमरी भएको यो नै पहिलो अवसर भएकाले हामीलाई थप गौरव लागेको छ । सो सिक्का पनि बेलायतबाट आयत गरिएको क्युप्रोनिकेल धातुबाटै मुद्रण भएको हो ।

नेपाल सरकारले २०८० सालमा नइ प्रकाशनको लोगो अङ्कित दस रूपियाँको दस लाख प्रति हुलाक टिकट प्रकाशनमा ल्याएको छ । नेपाल सरकार र नेपाल राष्ट्र बैंकबाट हाम्रो समग्र कार्यको उच्च कदर गरेकोमा हामी थप प्रोत्साहित भएका छौँ ।

नेपाली भाषासाहित्य, कला, संस्कृति, समाजसेवा, ज्ञानविज्ञान, चिन्तन, खेलकुदलगायत अन्य विविध क्षेत्रका प्रतिभाको खोजी र तिनीहरूको अर्चनामा नइ एकेडेमी अग्रसर छ । यस संस्थाबाट निरन्तर प्राज्ञिक महत्त्वका विभिन्न कार्यहरूका अतिरिक्त विविध ग्रन्थमालाहरूको पनि प्रकाशन भइरहेको छ ।

नइ एकेडेमीबारे प्राज्ञिक मत

नइ एकेडेमी नेपाली आकाशको एक आलोक हो । त्यो आलोक निरन्तर फैलिरहेको छ र त्यसले अनन्त फैलिरहनुपर्दछ । नइबाट नेपाली भाषासाहित्यका निम्ति चमत्कारी कार्य हुँदै आइरहेको छ र यो चमत्कार नित्य उज्ज्वल भइरहनुपर्दछ
राष्ट्रकवि डा.माधवप्रसाद घिमिरे

नेपाली भाषासाहित्यको राष्ट्रिय र अन्तर्राष्ट्रिय विस्तारको विकासक्रममा नइ एकेडेमीको भूमिका विशिष्ट कोटिको रहिआएको छ । नेपाली साहित्यिक सङ्घसंस्थाले गर्नुपर्ने र अरूको सोचमा नआएका धेरै नै कामहरू नइले गर्दै आएको छ । सरकारले बनाएका प्रज्ञाप्रतिष्ठानलाई समेत उछिनेर नइले नै सांस्कृतिक र साहित्यिक काम गरिरहेको छ ।
शताब्दी पुरुष डा.सत्यमोहन जोशी

नेपाली वाङ्‍‍मयको विविध क्षेत्रमा क्रियाशील भई उच्च योगदान गर्ने नइ एकेडेमीले गौरवशाली महिमा र इतिहास बोकेको छ । स्थापनाकालदेखि नै यो प्राज्ञिक संस्था वाङ्‍‍मयका प्रायः हरेक फाँटमा समर्पित भएर निष्पक्ष र जागरूक रूपमा अग्रसर भएको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा समेत पहुँच पुर्याएर नइले नेपाल राष्ट्रकै प्रतिष्ठा बढाउनसमेत महत्त्वपूर्ण भूमिका खेलेको छ ।
वैरागी काइँला

नइ एकेडेमीले जिवित स्रष्टाको हित मात्र गरेको छैन; मरे, बाँचेका धेरै स्रष्टा बचाउने सञ्जीवनी संस्था पनि नइ नै देखा परेको छ । नइले छोएपछि फलाम सुन र सुन पारस बन्दो रहेछ भन्ने पनि देखियो ।
नेपाली साहित्यका विश्व नारी रत्न डा.वानीरा गिरी

नइ एकेडेमीका गतिविधि मामुली ढङ्गका रहेनन्, उँभोका रहे । नइका साहित्यिक कार्यहरू नेपालबाहिर पनि फराकिला छन् र यो संस्था भारततिर पनि चम्किलो रह्यो । नइले नेपाली साहित्यको इतिहासमा प्रेरणादायी ढङ्गबाट स्मरण गर्ने ठाउँ ओगट्यो । न्याय पाएका छन् नेपाली साहित्य तथा कला क्षेत्रका कर्मीहरुले नइबाट ।
डा.इन्द्रबहादुर राई

नइ एकेडेमी नेपाली भाषा र साहित्यका साथै साहित्येतर वाङ्‍‍मयका प्रवर्धनमा अविच्छिन्न साधनारत एक अग्रणी संस्था हो । यसको योगदान समकालिक नेपाली वाङ्‍‍मयको श्रीवृद्धिमा विशेष व्यापक र बहुआयामिक पनि छ । नइ एकेडेमीलाई नेपाली जीवन र जगत्को आँखाको नानीजस्तो प्रिय तुल्याई ठेट नेपाली ढङ्गले नेपालको गौरव वृद्धिका अनुष्ठानको अभिन्न अङ्गका स्वरूपमा हुर्काउन आफ्ना गाँससमेत काटी दृढ रूपमा साधनारत ‘नइ’को म सह्रनी गर्दछु ।
महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी

यदि नइ नभएको भए कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम तथा महाकवि लक्ष्मीप्रसाद देवकोटा समाविष्ट त्रिमूर्ति निकेतनको स्थापना हुने थिएन । एउटा विशिष्ट साहित्य संयुक्तिको यो संयोजनको पुरोधा नै बनेको छ नइ, नेपाली भाषासाहित्यको इतिहासमा ।
ईश्वरवल्लभ

नइ एकेडेमीले वाङ्‍‍मयको क्षेत्रमा महत्त्वपूर्ण कार्यहरू गर्दै आएको छ । वास्तवमा सरकारी क्षेत्रबाट हुनुपर्ने र गरिनुपर्ने काम पनि नइले सफलताका साथ पूरा गरेर प्रेरणादायक उदाहरण प्रस्तुत गरेको छ ।
कालीप्रसाद रिजाल

नइ एकेडेमीले नेपाली भाषासाहित्यमा आफ्ना ओजपूर्ण कार्यहरूमार्फत शिखर आरोहण गरिरहेकै छ । नइको नेपाली भाषासाहित्यप्रतिको मोह र त्याग हामी भारतवासी नेपालीहरूका लागि समेत प्रेरक रहेको छ । नेपालमा नइ प्रकाशन छ र नै त्यतापट्टि पनि हाम्रो बलियो ओत छ भनेर हामीले भरोसा गरेका छौँ ।
लीलबहादुर क्षत्री

राष्ट्रिय र अन्तर्राष्ट्रिय जगत्सम्म आफ्नो पूर्वाग्रहरहित पहुँच पुर्याउन सकेको सफल नइ एकेडेमीभन्दा प्राज्ञिक दृष्टिले धनी वा सम्पन्न अर्को संस्था कुनै छ ? त्यसैले यो संस्था पुरस्कार र प्राज्ञिक सेवा कार्यको सर्वोच्च हिमचुली सगरमाथा होइन ? नेपाली वाङ्‍‍मयको समग्र समुन्नतिका लागि समर्पित प्राज्ञिक सांस्कृतिक संस्था अर्को कुनै छ र ?
प्रा.डा.दयाराम श्रेष्ठ

नइ एकेडेमी नेपाली साहित्य, संस्कृति जगत्को एउटा विशाल वटवृक्ष बन्न पुगेको छ जसले अन्तर्राष्ट्रिय क्षेत्रमा समेत आफ्नो टड्कारो परिचय स्थापित गरिसकेको छ । कुनै पनि राजनैतिक सिद्धान्त र विचारबाट पूर्ण मुक्त रहेर आफ्नो लक्षित सेवामा कर्मरत रहेको हुनाले नइ विभिन्न विचारधारा र राजनैतिक सिद्धान्तमा आस्था राख्ने सुधीजनहरूबीच एकसमान रूपमा जनप्रिय छ ।
नव सापकोटा

नइ एकेडेमी एउटा ठूलो प्रज्ञाप्रतिष्ठान हो, जहाँ दुई जना कुलपति छन्, तर ती अन्यत्रजस्तो लड्ने र झगडा गर्ने गरेको सुनिएन । न भत्ता, न चिल्ला गाडी, न दलसित नाता, न परिषद्, न सहयोगी हातहरूको चिन्ता, न अपारदर्शिताको आरोपप्रत्यारोप छ यिनलाई । नइका यी ऐतिहासिक जोडी ‘नइ’, घरभित्र बसेर पनि कुदिरहेछन् । रेसमा कसैले उछिन्ला भन्ने चिन्ताले हैन, यस जोडीले समयलाई उछिन्न खोजिरहेछ ।
प्रा.डा.प्रेम खत्री

मेरो हातमा ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ आयो । मेरो समझमा थिएन, मेरो उद्देश्य पनि थिएन, मेरो सपनामा पनि थिएन । कसरी आयो त्यो अकल्पनीय भाग्य ? जर्मनेली मुखले भन्छ— ‘कुमारीमा बच्चा आएजस्तो, अचम्मको कुरा ! तर म भन्छु— नेपालीहरू जादुमा विश्वास गर्छन् र यिनीहरू जादु पनि गर्छन् ।’ पुराना, आविष्कार नभएको अवशेष र मूर्ति पनि आविष्कार भयो; तैपनि प्रशंसा पाए अर्काले । तर आँखाहरू रहेछन् सहस्र यस देशका महान् देव इन्द्रका पनि ।
प्रा.डा.मानफ्रेद गेर्हार्द थ्रोइ
⬝⬝⬝⬝⬝⬝
राजकीय प्रतिष्ठान सारै थकित झैँ भयो
नइ युगलमा कस्तो चोखो जाँगर देखियो ।
⬝ प्रा.मुकुन्दशरण उपाध्याय

हाम्रा जेजति सामर्थ्य भित्रैदेखि जगाउँछाैँ
ज्ञानविज्ञान आर्जेर नइलाई उठाउँछाैँ ।
⬝ डा.मोदनाथ प्रश्रित

अमर सुरचनाका भै स्वयं दीप दीप्त
प्रिय नइ ! जनका छौ चेतनामा प्रदीप्त ।
⬝ गोविन्दराज विनोदी

Nai Academy was established on February 15, 1996 (2052 BS, Magh 15) with the aim of promoting and enriching Nepali literature and culture. The institution received formal government recognition on April 30, 1998 (2055 BS, Baisakh 17). The name ‘Nai Academy’ and its associated body, ‘Nai Prakashan’, a literary, cultural, and social organization, were formed by combining the initial letters of the names of the two founders, Narendra Raj Prasai and Indira Prasai.

Nai Academy is a common platform for lovers of Nepali literature and culture. The institution is guided by the ideal of ‘Vasudhaiva Kutumbakam’ (The World is One Family). This organization has consistently upheld traditional cultural values, norms, and beliefs. Another major objective of the institution is to honor talents from across the nation and the world.

Nai Academy is actively dedicated to embracing Nepali values, norms, and culture while also taking the lead in presenting the creative skills of Nepali talents in a beautiful and tasteful manner. ​In 2022 (2079 BS), the Nepal Rastra Bank (Nepal’s Central Bank) issued ten thousand commemorative coins of one hundred rupees, featuring the Nai Prakashan logo.

We feel immense pride as this marks the first time that the Nepal Rastra Bank has minted a coin in the name of a Nepali literary organization. Notably, the coin was minted using Cupronickel alloy imported from the United Kingdom. ​In 2023 (2080 BS), the Government of Nepal issued one million postage stamps of ten rupees, also featuring the Nai Prakashan logo. We are further encouraged by this high recognition of our overall work by both the Government of Nepal and the Nepal Rastra Bank.

Nai Academy is at the forefront of identifying and honoring talents in Nepali language, literature, arts, culture, social service, science and knowledge, philosophy, sports, and other diverse fields. In addition to various continuous academic works, the institution is also engaged in the publication of various series of literary and scholarly works.

ईश्वरवल्लभको कविता

समकालीन कविता

समकालीन कथा

नेपाली साहित्यका विभूति

नइ अभिलेख


नइ टेलिफोन कोश