नइ प्रकाशन Nai Prakashan
»  अन्तर्राष्ट्रिय र राष्ट्रिय पुरस्कार   »  नइ देरुनीखपू पुरस्कार   »  देशविदेशका दस जनालाई नइ पुरस्कार   »  वाङमय, धर्म र सेवा पुरस्कार   

विन्द्या सुब्बाको निबन्ध


प्रिय नरेन्द्रजी
!
अहिले मेरो हातमा २०६३ साल अर्थात् सन् २००६ मा प्रकाशित तपाईंको कृति 'पारिजातको जीवनकथा'को दोस्रो संस्करण छ । सादर, सस्नेह यो प्रति तपाईंले मलाई उपहारस्वरूप पठाइदिनुभएको हो । यसमा २५-१२-२००६ मिति लेखिएको छ । तर यसभन्दा अघि नै २०५७ सालमा प्रकाशित 'पारिजातको जीवनकथा'को प्रथम संस्करण काठमाडौंबाट झिकाएर मैले पढिसकेकी थिएँ । त्यतिखेर नै पारिजातबारे एउटा ठोस र महत्त्वपूर्ण कृतिका रूपमा यस पुस्तकको मूल्याङ्कन हुनेछ भन्ने मैले ठानेकी थिएँ र त्यस्तै भयो पनि !
नरेन्द्रजी ! पारिजात एउटी चर्चित लेखक भनेर मात्र होइन, स्वास्नीमान्छेका रूपमा असाध्य साहसी, पुरुषप्रधान समाजका रूढिवादी परम्पराविरुद्ध आन्दोलनकी अग्रदूत तथा एक अत्यन्त सक्रिय महिला हस्तीका रूपमा पनि उनलाई औधी श्रद्धा गर्दछु । यसर्थ म पारिजातकी प्रशंसक हुनुका साथै कृतिगत, व्यक्तिगत र मनोगत सबै पक्षहरूबाट उनको पाठक पनि हुँ । भारतीय सशक्त महिला लेखक, शताब्दी नारी अमृता प्रीतमकी पनि उत्तिकै प्रशंसक हुँ म, तर उनीसँग मेरो त्यस्तो खास सम्बन्ध थिएन । उनको जीवन, लेखकीय ऐश्वर्य र दुख्दो अन्तरकुन्तर पुस्तकहरूमा पढेर महसुस गरेँ मैले, तर उनलाई हातले सुमसुम्याउन पाइनँ ।जीवनको अन्तिम समयमा दिल्लीमा उनैको निवासमा दर्शन गर्ने सौभाग्य पाएँ, तर एक प्रकारले मृत्युशैयामा थिइन् उनी त्यस बेला । त्यो हेरी उस्तै उचाइकी पारिजातलाई मैले धेरै पक्षहरूबाट नगिच पाएकी थिएँ । उनी मेरी साहित्यिक आदर्श, अनुकरणीय अग्रज मात्र नभएर साथी पनि भइदिइन्, जसको छातीमा शिर राखेर मैले उनको हृदयको अन्तरतम कुरा सुनेँ; उनको सपनाको इन्द्रेनीलाई हत्केलामा राखेर सुमसुम्याएँ । यतिसम्म कि हामीले आफ्ना दृष्टिहरूसमेत एकअर्कासँग साटय
नरेन्द्रजी ! 'पारिजातको जीवनकथा'को दोस्रो संस्करण अरू परिष्कृत, अरू पूर्णतासाथ प्रकाशित भएको छ । पारिजातका समस्त गुण, महत्ता, प्रतिभा तथा सम्पूर्ण दुर्वलता, पीडा र भोगाइहरूलाई समेटेर हामीसमक्ष झर्झराउँदी पारिजातलाई उभ्याइदिनुभएको छ तपाईंले । पारिजातका पाठकहरू, शोधकर्ता र विद्यार्थीहरूलाई यस पुस्तकले ठूलो सहायता पुर्याउँछ भन्ने मेरो विश्वास छ ।
त्यसो त तपाईंले अरू पनि हाम्रा धेरै गौरवमय व्यक्तित्वहरूको जीवनी र जीवनकथा लेखेर नेपाली वाङ्मयलाई महत्त्वपूर्ण योगदान दिनुभयो । नेपाली नारी साहित्यकारहरूको इतिहास र परम्परामा 'प्रथम नारीस्रष्टा : ललितत्रिपुरसुन्दरी' को जीवनी मलाई हुनसम्मको उपयोगी कृति लाग्छ । तपाईंद्वारा लिखित यस जीवनी कृतिले नारी हस्ताक्षरहरूको पर्वपरम्पराबारे कति ठूलो उज्यालो पारिदियो ! साथै तपाईंले 'देवकोटाको जीवनशैली' लेखेर आफ्नो गम्भीर अध्ययन, स्रष्टाप्रतिको भक्तिभाव र अनुसन्धानात्मक दक्षताको परिचय दिनुभयो । 'नारीचुली' जस्तो अभूतपर्व एवं साधनासाध्य ग्रन्थ प्रकाशित गरेर नेपाली जीवनी साहित्यमा आफै लिनुभयो । 'पारिजातको जीवनकथा' मार्फत तपाईंसँग स्रष्टालाई हर्ने सूक्ष्म दृष्टिकोण, अनुभूत गर्ने संवेदनशील मन र विश्लेषण गर्ने बौद्धिक उचाइ छ भन्ने प्र्रमाण दिनुभयो । तर्थ कति दिनदेखि तपाईंप्रति मेरो मनमा साँचेर राखेको सम्मानभाव आज मात्र नरेन्द्रजी ! यसरी पत्रमा पोखिरहिछु म । तपाईं मेरो हार्दिक सराहना र अनन्त शुभकामना ग्रहण गर्नुहोस् ।
'पारिजातको जीवनकथा'मा तपाईंले जम्मा २२ वटा परिच्छेदहरूमा उनलाई प्रस्तुत गर्नुभएको छ । उनको जीवनका एकएकवटा पक्षहरूलाई तपाईंले राम्ररी केलाउनुभएको छ । पारिजातको आर्थिक स्थिति, उनको जीवनमा सुकन्या, प्रेम र यौनका प्रसङ्गहरू, उनलाई मन पर्ने र नपर्ने स्रष्टाहरू, पारिजातको आलोचना र सम्मान... आदिआदि पुस्तकका र्सवाधिक संवेदनशील पक्षहरू हुन् भन्ने लागेको छ मलाई । ती परिच्छेदहरूमा अरू धेरै धेरैहरूमाझ म पनि छु कतैकतै । पारिजातको प्रसङ्गमा यसरी आफू पनि कतै जोडिनु कत्रो सौभाग्यको कुरो हो मेरा निम्ति पनि !
'पारिजातको जीवनकथा'ले पारिजातको जीवनका बाहृय र आन्तरिक पक्षको सौन्दर्य बोधलाई जति मुखरित गरिदिएको छ, त्यतिको सायद अन्य कुनै कृतिले गरेको छैन । पारिजातका गोपनीय कतिपय सन्दर्भलाई सार्वजनिक गरिदिनुमा पनि सायद यही कुरा लागु हुन्छ । यसको प्रथम संस्करण पढेर नै एकएक परिच्छेदबारे आफ्ना टिप्पणी लेखिदिनुभएको छ वरिष्ठ समालोचक प्राध्यापक राजेन्द्र सुवेदीजीले । साथै 'पहेंलो गुलाफ'की चर्चित स्रष्टा प्रेमा शाहको यस कृतिमा प्रकाशित पत्र साह्रै मीठो छ, झन्डै उनीद्वारा लेखिने एउटा छोटो कथाजस्तो नै । यस कृतिको दोस्रो संस्करणको एउटा थप आकर्षण प्रेमाको यो पत्र पनि भएको मैले महसुस गरेकी छु ।
नरेन्द्रजी ! जीवनमा धेरै स्थितिहरू आउँछन्, धोकाहरू हुन्छन् कति हो कति । स्टेसनको प्लेटफार्ममा आइपुगिसकेर हेर्दाहेर्दै रेलगाडी छुटिदिन्छ । छुनछुनै लागेको थोक एकै क्षणमा आँखाअघिबाट हराइदिन्छ । पारिजात पनि सत्तरीको दशकमा दुईतीनचोटि दार्जिलिङ आइन्, उनीसँग मेरो भेट हुनु जुरेन । सन् १९७८ तिर त उनी मेरो माइती गाउँ तीनधारे पनि गइन्, बास बसिन् तर म दार्जीलिङमा थिएँ । सन् १९८३ सालको दशछेक काठमाडौं घुम्न गएँ म, तर प्रबल इच्छा हुँदाहुँदै पनि भयवश, सञ्कोचवश या समयको अभाववश पारिजातकहाँ नगई दार्जीलिङ फर्कें । यतिका प्रतिकूलताका विपरीत मेरा निम्ति पारिजात हातबाट फुस्कन लागेको स्थितिमा पनि स्पर्श गर्न पाएकी, अँगालो हाल्न सकेकी एउटा बत्ती थिइन् । म काठमाडौं गए लगत्तै चार महिनापछि पारिजात दार्जीलिङ आइन् । तर विधाताले यसचोटि भेट निश्चित गरिदिएको थियो । हरिजी (डा. हरिप्रसाद श्रेष्ठ) र पारिजात मिलेर बनाएको जुक्तिअनुसार मलाई आफ्नो नाम नबताईकन होटलमा बोलाई पठाइन् र त्यस समय अचानक मेरो सपनाकी रानी पारिजात मेरै आँखाअघि थिइन् । उनी मसँग हाँसेर कुरा गर्दै थिइन् । त्यस बेला पारिजातसँग मेरो भेटघाट र कुराकानी मात्र होइन, एउटा गहिरो मित्रता पनि भयो ।
सन् १९८४ को त्यो भ्रमण पारिजातको जीवनको अन्तिम दार्जिलिङ भ्रमण पनि थियो । त्यसपछि बाँचेको नौ वर्षो लामो अन्तरालमा पलपल दार्जिलिङलाई याद गर्दै बाँचिन् उनी । त्यस बेला भेट नभएको भए सायदै जीवनमा मैले पारिजातलाई भेट्न पाउने थिएँ । मेरो जानकारीमा भएअनुसार उनी दुईचार वर्षको अन्तरालमा विभिन्न उद्देश्य लिएर दार्जिलिङ आउँथिन् । सत्तरीकै दशकतिर नै राल्फाली समूहसँग 'सिम्मा' नाटक लिएर पनि उनी आइन् । तर जुनै उद्देश्य लिएर पनि दार्जिलिङ आए पनि, आफू बसेको होटलको एउटा कोठामा आँखा बिछयाएर गुराँसको बोट (यो कोड भाषा पारिजात र मबीच) को बाटो हेरेर उनी बस्थिन् । सन् १९८४ मा आउँदा हप्ता दिन जति नै बसिन् उनी; म प्रत्येक दिन होटलमा गएर उनीसँग समय बिताउँथेँ । गम्भीर साहित्यिक चर्चादेखि लिएर गफ, ख्यालठट्टा, पीडा र सपनाका कुरा, गीत गायन आदि अनेक रमाइलाहरू हामीले गर्र्यौ। त्यस अवधिमा सायद पारिजातको आगमनको खबर गुराँसको बोटसम्म पुगेन । यत्तिकैमा पारिजातको फर्कने समय भइसकेथ्यो, त्यसैले खबर भनिदिन म उनको गाउँसम्म गएँ, तर भेट भएन । त्यसै गाउँमा आदरणीय उपन्यासकार प्रकाश 'कोविद' दाइलाई खबर छोडेर आएकी थिएँ, भोलिपल्ट नै आएछन् क्यार ! काठमाडौं पुगेर पारिजातले पत्रमा लेखेकी थिइन् मलाई- "आउने बेलामा एकै क्षण मात्र गुराँसको बोटलाई हेर्न पाएँ । मेरो तकियामुनि अझै पनि छुर्पीका दुईवटा टुक्रा छन्, फोरेर खान आँट आउँदैन ।" वास्तवमा पारिजात गुराँसकै बोटको निम्ति पनि दार्जिलिङ आउँथिन् । दुईचार दिन बसेपछि मनप्राण दार्जिलिङमा नै छोडेर काठमाडौं फर्कन्थिन् । त्यस्ती साहसी, मेधावी र प्रचण्ड व्यक्तित्वशाली नारी पारिजातलाई झुकाइदिने, भिजाइदिने र गलाइदिने उनी भित्रको त्यो अनुराग । प्रतिभाकी खानी पारिजातको यो अधुरो प्रेम साँच्चिकै अनौठो छ !
नरेन्द्रजी ! पारिजातबारे चर्चा गरेर कहिले नसकिने कुराहरू छन् । गुराँसको बोटसँग मेरो प्रसङ्ग मात्र त्यति नै । सन् १९९३ मा पारिजात बितेपछि अब गुराँसको बोटसँग कुनै दिन भेट होला भन्ने सम्भावना वा भेट्नुपर्ने कारण नै पनि निःशेष भएर गयो । एक दिन म नभएका बेला मेरो थलोमा आएर मलाई सोध्दै थिए अरे ! खबर छोड्नुहोस् भन्दा पनि "होइन भेट्नु छ" भने अरे ! सुनेर त्यो साँझ थाहा छैन कस्तो प्रकारको भावावेशमा आएँ म - सोचेँ- "उनी किन भेट्न चाहन्छन् मलाई - पारिजातले सायद उनीसँग कुरा गरेकी यो विन्द्या सुब्बालाई एकचोटि हेर्ने इच्छा उनले राखेका थिए कि - अथवा के मसम्मुख पारिजातको याद रुन चाहन्छन् उनी - के जीवनका धोकाहरू, अफसोसहरू के शेयर गर्न चाहन्छन् उनी - त्यसै पनि पारिजातले भनेकी छन्- "यो दुख एकतर्फी छैन, उहाँ पनि म जतिकै दुखी र विचलित भएर बाँच्नुभएको छ ।"
             फेरि पनि हराए उनी, पर्खें कुनै दिन आउलान् कि - तर एकैचोटि मैले उनको मृत्युको खबर सुनेँ । उनी मलाई खोज्दै आउनु र यो अवसानबीच धेरै समयको फरक छैन । तर गुराँसको बोटसँग मेरो भेट हुनु जुरेकै थिएन, भएन । चाहेको भए हात लम्क्याउँदा पनि भेट्न सकिने दूरीमा रह्यौहामी, तर साँच्चै भेट भएन । यस प्रसङ्गलाई मैले आफ्नो एउटा लेख- "मेरो आँखामा पारिजातको दृष्टि छ गुराँसको बोट हर्नलाई" मा अलिकति उल्लेख गरेकी छु ।
 

       नरेन्द्रजी ! धेरै गफ गरेँ तपाईंसँग । आज वसन्त पञ्चमीको पावन दिन पनि हो । कहिले महिनौं कलम समाउन नपाउँला जस्तो पनि हुन्छ । तर एउटा चेष्टा सदैव रहन्छ, यस दिनमा म कागतमा केही न केही भए पनि अक्षरहरू पोख्ने गर्दछु यसचोटि २०६७ सालको वसन्त पञ्चमी काठमाडौंका एक उद्यमी साहित्यकर्मी, आफ्ना अग्रज विभूतिहरूप्रति औधी श्रद्धावान्, मेरा समवयसी साहित्यकार नरेन्द्रराज प्रसाईलाई पत्र लेखेर मनाइरहेकी छु म । म सम्झन्छु एउटा सही दिनमा, सही ठाउँमा, सही कुरा पोखिरहेछु आज । त्यसैले मेरो एकान्त वसन्त उत्सव सार्थक छ यस वर्ष।
       चिन्तन गर्दा आत्मविस्मित पनि हुन्छु म । समयसमयमा निकै विवादमा फसेकी, तपाईंले लेख्नुभएझै पारिजातका कतिकति निष्ठावान्, शुभचिन्तक बन्धुहरू, उनलाई पीठ्यूमा बोकेर हिँड्ने समूहका प्यारा साथीहरू, फेरि अवसरवादी, कामुक केही कवि साहित्यकारहरूका प्रसङ्गहरू तथा अर्कातिर शङ्कर लामिछानेसँग त्यतिका स्नेह, सान्निध्य र प्रेमकै पराकाष्ठाको सम्बन्ध मानिए पनि नारी पारिजातको मन, कुमारी पारिजातको सपना र अन्तरान्तरको अनुरागलाई उनले दार्जिलिङमा गुराँसको बोटको निम्ति सदैव जोगाएर राखेकी थिइन् । बाँकी सबै सम्बन्धहरू स्थूल मात्र भए पनि एकअर्काप्रतिका क्षणिक आकर्षण मात्र, हल्लाहरू फगत् माथिमाथि सबै । पारिजात एउटा भीषण चाहनासाथ, कोमलतासाथ, मनका सारा श्रद्धासाथ कसैलाई प्रेम गर्थिन् भने त्यो पात्र गुराँसको बोट नै थियो र पारिजातको आत्मस्वीकृतिको अडान पनि यहीँनेर स्थिर छ । पारिजातका मङ्गोलियन आकारका दुई मेधावी आँखाहरूमा मैले त्यो चाहनाको रङ्ग स्पष्टसँग देखेकी छु । जब पनि म उनलाई याद गर्दछुयो रङ्ग दुख्छ मभित्र, पारिजातको दृष्टि छ मसँग । यस दृष्टिबाट जब पनि म दार्जिलिङलाई हेर्छु केही देख्तिनँ, मात्र एउटा भयावह शून्यता । जसलाई हेरुँला भनेर मैले दृष्टि दिइनँ त्यो बोट पनि चाँडै ढल्यो ।
       नरेन्द्रजी ! प्रिय नरेन्द्रमा इन्दिराले 'पारिजातको जीवनकथा' बारे लेखेको एउटा प्रसङ्ग पनि यहाँ सम्मिलित गरौं जस्तो लाग्यो मलाई । इन्दिराले पारिजातका यौन प्रसङ्गलाई लिएर जुन विचार र प्रतिक्रिया व्यक्त गरेकी छन्, त्यो नितान्त सही हो । तर सबैको सन्दर्भमा त्यही नै ठीक नहोला । एउटा समर्पित दम्पतिको, विवाहित सहज जोडीको यस प्रकारको अनुभूति सही हो । तर स्वाभाविकतादेखि पर पनि धेरै कुरा हुन्छन् । 
       पारिजात त्रास र आत्मग्लानिमा मुछिएकी हुन्थिन् र ती पुरुष जो कुनै पनि होऊन् उनको चाहनाका पुरुष थिएनन् । पारिजातजस्ती आत्मसम्मानपूर्ण नारीका निम्ति यस्तो अनुभूति अस्वाभाविक होइन । उनले यसो पनि त भनेकी छन् - "मेरो प्रथम प्रेमीसँगको शारीरिक चाहना अझै पनि छ मसँग तर म अमर्यादित हुन चाहन्नँ
       पारिजात आफैले विभिन्न साहसपूर्ण अभिव्यक्ति दिए पनि उनीजस्ती स्वाभिमानी र आत्मसचेत नारीका निम्ति कुनै अन्य पुरुषअघि शरीर र मन दुवै पक्षबाट पूर्ण समर्पणको स्थिति आउनु त्यति सहज कुरो होइन र यसबाट सुखानुभूतिको प्रश्न पनि त्यस्तै धमिलो भइदिन्छ । म एउटी यस्ती प्रसिद्ध भारतीय महिला साहित्यकारलाई चिन्दछु जसको पतिसँग लामो वैवाहिक जीवन बित्यो, बितिरहेछ । छोराछोरी छन् तर उनको कुराअनुसार उनी यौनलाई प्रायः असुन्दर नै मान्छिन् । भारतीय साहित्यिक समारोहहरूमा दुईतीनचोटि उनीसँग मेरो भेट भयो, आत्मीयता बढ्यो । दुईजना बसेर कुराकानी गर्दा भनेकी थिइन्, "आइ कन्सिभ्ड माई एभरी चाइल्ड आउट अफ पेन ।"
       यौनलाई लिएर म योभन्दा धेरै कुरा गर्न सक्दिनँ । अहिले यहाँ मैले भन्न चाहेको कुरा सायद ठीकसँग व्यक्त गर्न पनि सकेकी छैन । लेखनमा मैले कहिल्यै छुने साहस नगरेको, चर्चा गर्न नसकेको विषय पनि हो यो । नरेन्द्रजी ! यसलाई छोडेर बरु म अझै एउटा सद्गुण बताउँछु पारिजातको । उनी कर्मले मात्र होइन वस्तुतः हृदयले नै साहित्यिक थिइन्, असल स्रष्टा थिइन् । आफूभन्दा साना लेखकहरूलाई प्रोत्साहन दिन्थिन्, रचनाहरू पढेर प्रतिक्रियासमेत लेखिदिन्थिन्, मार्गदर्शन गर्थिन् । सन् १९८४मा जति दिन पनि उनी दार्जिलिङमा बसिन् युवा जमात होटलमा आइरहे, कसैलाई पनि राम्रो नबोलेर, चित्तबुझदो किसिमले बातचीत नगरेर उनले फर्काइनन् । बरु उनी साथीजस्तै भइदिएर, हाँसेर कुरा गरिदिने गर्थिन् । मलाई त उनले औधी माया गरिन्, गाली गरिन्, उत्साह दिइन् र सक्दो प्रशंसा पनि गरिन् । एउटी अन्तर्मुखी, सङ्कोची, आत्मविश्वासहीन यो विन्द्या सुब्बालाई उभयमुखी, आत्मविश्वासी र सक्रिय बनाइदिनमा पारिजातको केही प्रतिशत योगदान छ । पारिजातजस्ती उचाइकी एक प्रतिष्ठित साहित्यकारमा यस प्रकारको उदाहरण, साहित्यप्रति अटल निष्ठा र नयाँ पिँढीप्रति अभिरुचि मैले यस उचाइका अरू थोरै मात्र साहित्यकारहरूमा देखेकी छु ।
       मान्छेको स्वलाई, सत्तालाई औधी श्रद्धा गर्ने, विश्वास गर्ने भएरै पारिजात स्वयं पनि त्यति आत्मप्रतिष्ठित र सम्मानित थिइन् । मानवतावाद उनको जीवनको मूल मन्त्र थियो । उनको साङ्गठनिक जीवनको प्रसङ्गमा 'बन्दी सहायता नियोग' मानवतावादको ठूलो उदाहरण हो र उनको सपनाचाहिँ 'बचेरा वास' थियो । त्यसैले मान्छेको रूपमा औधी सुन्दर थिइन् पारिजात ।
       नरेन्द्रजी ! पारिजातको जीवनकथाभित्र उनलाई मन नपर्ने लेखकहरूमध्ये इन्द्रबहादुर राईको पनि नाउँ छ । आयामेली साहित्य र चिन्तनलाई पाठकहरूमा भ्रम सृष्टि गरिदिने र प्रतिभाहरू बिथोल्ने लेखन भन्ने आरोप थियो पारिजातको । यो कुरो अरू पनि धेरै ठाउँमा व्यक्त गरेकी छन् उनले । इन्द्रबहादुर राई र पारिजातबीचको अमेल र अप्रियता साहित्यमा सिद्धान्तहरूबीचको द्वन्द्व हो । अन्यथा राईलाई औधी मान्थिन् पारिजातले । जब उनी दार्जिलिङ आउँथिन्, उनी बसेकी होटलमा आउँथे राई र दुई जनाबीच खुब तर्क चल्थ्यो । झगडा मात्र होइन, आत्मीयतापूर्ण कुराकानी पनि हुन्थ्यो दुवैको । आयामेली साहित्यका निम्ति पारिजात खुब तर्क गर्थिन्, तर राई अझ जिस्क्याउँथे रे उनलाई-"बहिनी, म तपाईंलाई पनि आयामेली नबनाई छोड्दिनँ।"
       पारिजातले भनेकी थिइन् मलाई - "विन्द्या, धुरन्धर विद्वान् हुन् आई.बी. राईजी, तर्कमा म उनलाई कहिले पनि जित्न सक्दिनँ, तर अन्तमा लिँडे ढिपी गरेर भए पनि जित्छु।"
       नरेन्द्रजी ! 'पारिजातको जीवनकथा' अनेकौं सन्दर्भमा त्यही तर्क, सौर्न्दर्यबोध, प्रेम, ज्ञान, साहस, हर्ष दुख, विवाद, पीडा आदि विविध भावहरूले पूर्ण एउटा सिङ्गो कृति हो, जस्तो गरीकन यी सबै विरोधाभासहरूबीच बाँचेकी थिइन् पारिजात । तपाईंले पुस्तकको अन्ततिरको पृष्ठमा 'आनुष्ठानिक सूची : एक' भनेर आफ्नो दृष्टिमा परेका प्रकाशनहरूको संक्षेप दिनुभयो जहाँ सकारात्मक र नकारात्मक, सराहना, स्याबासी तथा गालीसमेतका अंशहरूको उदाहरण राख्नुभएको छ, तथापि सम्माननीय साहित्यकारहरूले पुस्तकप्रति बढी सकारात्मक अभिव्यक्तिहरू नै दिएका छन् ।
       पुस्तकमा लेखकहरूले प्रायः आफूलाई प्रशंसा गरिएका टिप्पणीका अंशहरू मात्र राख्ने गर्दछन् । ईश्वरवल्लभ देखि मदनमणि दीक्षित सम्मका आशीर्वचनीय शब्दहरूसाथ एलिना कुँवर, ईशारा शर्मा, नीता पोखरेलका अंशहरू पनि राख्नुभयो जसले पुस्तकबारे अथवा तपाईंको कार्यप्रति नकारात्मक भाव प्रकट गरिदिएका छन् । यो एउटा राम्रो पक्ष लाग्यो मलाई तपाईंको मानसिकताको । फूल मात्र होइन काँडा पनि स्वीकार गर्ने, त्यसलाई पनि प्रेरणास्वरूप आत्मसात् गर्ने तपाईंको प्रवृत्ति खुब मन पर्‍यो मलाई । पारिजात पनि त भन्थिन् - "आलोचना ऐना हो, अनुहारमा लागेको दाग पुछ्न सकिन्छ ।"
       धेरै समय लिएँ तपाईंको; अब दुईतीन लहर मात्र लेखेर म पत्रान्त गर्दछु । नरेन्द्रजी ! जीवनले पारिजातबारे चर्चा गर्ने अवसर फेरि पनि देला हामीलाई । त्यसै पनि तपाईं त यस चिन्तनसागरमा डुबिरहनुभएकै छ । सागरभित्र मोती मात्र हुँदैनन्, केही असुन्दर तत्त्वहरू पनि हुन्छन्, तर पारिजातलाई लिएर सौन्दर्यमयी पक्षहरू नै बढी प्राथमिकतामा देख्न पाउँ भन्ने सदैव लागिरहन्छ । जतैबाट पनि सशक्त अद्वितीय र ऐर्श्र्यमयी देख्न चाहन्छु म उनलाई । वास्तवमा पारिजातका निम्ति यही सही पनि हो । त्यसै पनि सुन्दर असुन्दर, बाहृय अन्तर सबै मिलाएर हेर्दा निष्कर्षमा पारिजात औधी सुन्दर छिन्, गरिमाशाली र अनुकरणीय छिन् । पारिजात जस्तै प्रतिभाशाली नारी हर युगमा जन्मँदैनन् । यो युग धन्य छ, धनी छ । दुर्वलताको पनि आफ्नै सौर्न्दर्य हुन्छ, हर दुर्वलतामा पारिजात औधी सशक्त छिन्, आत्ममर्यादित छिन् । जसको धर्म नै मानवतावाद हुन्छ ऊ असुन्दर कहिल्यै पनि हुँदैन, हृदय र कर्महरूबाट सत्यम् र सुन्दरम् हुन्छ ऊ, एउटा मानवको सन्दर्भमा यही सार्वभौम आशा पनि हो । शाश्वत सत्य पनि हो।

शुभाकाङ्क्षी
(विन्द्या सुब्बा)
कालेबुङ, दार्जीलिङ
08-02-2011