नइ प्रकाशन
»  नइ खराबाट ६ जना पुरस्कृत   »  देशविदेशका नौ जनालाई पुरस्कार   »  नेपाल-भारतका ६ जना स्रष्टा पुरस्कृत   

नेपाल-भारतका ६ जना स्रष्टा पुरस्कृत

काठमाडौं, २०६६ चैत ४ (१७-३-२०१०)

नइ प्रकाशनले आज राजधानी काठमाडौंमा एक समारोह माझ विभिन्न क्षेत्रमा रहेर वाङ्मयको उल्लेखनीय सेवा गर्ने ६ जना महानुभावलाई जनही १० हजार रूपियाँ राशिका २०६६ सालका नइ पुरस्कार प्रदान गरेको छ ।
 
प्रमुख अतिथि भारतका प्रा.डा. इन्द्रबहादुर राईले नेपाली सङ्गीतको श्रीवृद्धिका लागि तीन दशकदेखि समर्पित हुँदै स्वरका माध्यमले जनमन छुन सफल श्री रामा मण्डललाई नइ कोइलीदेवी पुरस्कार प्रदान गर्नुभयो ।
 
त्यसैगरी तीन दशकअघिदेखि नेपाली भाषासाहित्यको साधनामा समर्पित रहँदै लेखन र समाजसेवामा महत्वपूर्ण योगदान दिनुहुने श्रीमती पुष्पलता आचार्यलाई नइ रेखा पुरस्कार  प्रदान गरियो ।
 
झन्नै तीन दशकदेखि नेपाली वाङ्मयको साधनामा समर्पित रहँदै निबन्ध, प्रबन्ध, स्तम्भ लेखन तथा साहित्यक पत्रकारितामा समेत महत्वपूर्ण योगदान दिनुहुने श्री जयदेव भट्टराईलाई नइ ईश्वरवल्लभ पुरस्कार  प्रदान गरियो ।
 
यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिहरुको हीत, मर्यादा र संरक्षणमा उल्लेखनीय योगदान पुर्‍याउने नीलहीरा समाजका अध्यक्ष तथा संविधानसभासद् श्री सुनीलबाबू पन्तलाई  नइ रामलक्ष्मी पुरस्कार  प्रदान गरियो ।
 
तीन दशकदेखि नेपाली भाषासाहित्यको साधनामा समर्पित रहँदै लघुकथा, कविता र निबन्ध लेखनका साथै चिकित्साक्षेत्रमा समेत महत्वपूर्ण योगदान दिने डा. रवीन्द्र समीरलाई नइ भाजप पुरस्कार  प्रदान गरियो ।
 
साथै भारतको दार्जीलिङ निवासी श्रीमती नीना राईद्वारा लिखित अन्तर्दृष्टिका रङहरूनामक कृतिका लागि नइ गणेशदुर्गा पुरस्कार प्रदान गरियो ।
 
त्यस अवसरमा नेपाली भाषासाहित्यका २५ जना ख्यातिप्राप्त व्यक्तित्वद्वारा नइ प्रकाशनका पुरस्कार संस्थापक तथा मुख्य दाता खनूपरूदे रामबाबूलाई सामूहिक अभिनन्दन गरिएको थियो । २५ जना स्रष्टाको हस्ताक्षर भएको उक्त अभिनन्दनको ताम्रपत्र प्रमुख अतिथि प्रा.डा. राईले रामबाबूलाई प्रदान गर्नुभयो ।
 
समारोहमा सुप्रसिद्ध अभिनेत्री सुश्री मनीषा कोइरालाले नरेन्द्रराज प्रसाईद्वारा लिखित "देवकोटाका कृति" नामक ग्रन्थको लोकार्पण गर्नुभयो । त्यस कृतिमा महाकवि लक्ष्मीप्रसाद देवकोटाका प्रकाशित र अप्रकाशित १२४ वटा कृतिको परिचय दिइएको छ । सो कृति सुश्री कोइरालाको आर्थिक सौजन्यमा नइ प्रकाशनबाट प्रकाशित भएको हो ।
 
साथै सीतापाइलाको युवासहभागिता माध्यामिक विध्यालयबाट एसएलसी परीक्षामा अधिकतम नम्बर ल्याउने सुश्री जस्मिना माझीलाई एक हजार रूपियाँसहित नइ रेखा विध्यापुरस्कारको ताम्रपत्र  प्रदान गरियो ।
 
नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा उपाध्यक्ष प्रा.डा. रामप्रसाद उप्रेती र सदस्यसचिव नरेन्द्रराज प्रसाईले पनि मन्तब्य दिनु भएको थियो ।