नइ प्रकाशन Nai Prakashan
»  अन्तर्राष्ट्रिय र राष्ट्रिय पुरस्कार   »  नइ देरुनीखपू पुरस्कार   »  देशविदेशका दस जनालाई नइ पुरस्कार   »  वाङमय, धर्म र सेवा पुरस्कार   

गोमा

         नेपाली भाषासाहित्यमा गोमाले जति गरिन्, थुप्रै गरिन् । एउटी दुर्गम गाउँकी बालिका राजधानी पसेर अन्ततः उनी आफ्नै बुताबाट नेपाली साहित्यकी गोमा बनिन् अर्थात् उनी नेपाली साहित्यमा झल्झलाउँदी तारा बनिन् । गोमाले जहिलेदेखि कलम समाइन् त्यसपछि बाचुन्जेल समाइन् । गोमाको जीवनको खुसी र दुःख नै उनको कलम थियो । उनी रुँदा पनि लेख्थिन् र हाँस्ता पनि लेख्थिन् । लेख्तालेख्तै उनले नेपाली भाषाका विविध विधामा पन्ध्र पुस्तक लेखिन् ।

गोमाको जीवन करुणामय ढङ्गबाट व्यतीत भयो । उनी शिशुकालदेखि नै मातृविहीन भइन् । उनको दस वर्षो उमेरमा सौतामाथि बिहे भयो । घरमा सौताको पीडा र माइतमा सौतेनी आमाको कटु व्यवहारका कारण गोमा एक्ली थिइन् । उनमा त्यो एक्लोपन आफू तीन महिना पुग्दानपुग्दैदेखि सृजना भएको थियो किनभने यिनले आफ्नी आमाको दूध त्यसै बेलादेखि चुस्न पाएकी थिइनन् । एउटा डरलाग्दो काल आएर यिनकी आमालाई १९८२ सालको भदौमा नै टिपेको थियो ।
गोमाको जन्म संवत् १९८२ साल जेठ १५ गते पर्वतको राम्जामणि चौरमा भएको थियो । लक्ष्मीकान्त उपाध्याय र नन्दकुमारी उपाध्यायकी उनी प्रथम सन्तान थिइन् । गोमा सानै हुँदा यिनकी आमा दिवङ्गत भएकाले जीवन र जगत्को कारुणिक खेल यिनले आफ्नो जीवनभर देखिरहिन् ।
गोमा सानैदेखि तीक्ष्ण थिइन् । त्यसैले उनका असी वषर्ीय हजुरबुबाले उनलाई बाल्यकालमै भानुभक्तको 'रामायण', 'महाभारत', दर्ुगाकवच कण्ठ गराएका थिए । गोमालाई आठ वर्षै उमेरदेखि 'अमरकोश' घोकाउन सुरु गरिएको थियो ।
बाल्यावस्थामा गोमाले सातआठ वर्षसौतेनी आमाका गाली, कुटाइ र यातनामा बिताइन् । त्यो दुःख देख्न नसकेर यिनलाई यिनका हजुरबुबा र फुपूले पालोपालो गरी पालेका थिए । त्यसपछि यिनी दश वर्षटेक्तानटेक्तै बिहेको बन्धनमा परिन् । कालु उपाध्यायले तीन पत्नीपछाडि गोमालाई आफ्ना घरमा भित्र्याएका थिए । बिहेपछि गोमाको दिनचर्या झन् कष्टकर हुन थाल्यो । त्यतिखेर उनका लागि माइती भन्नु एकादेशको दैत्यको घर थियो भने घर भन्नु पशुशालाजस्तै थियो । त्यो स्थिति भोग्न नसकेर उनले आत्महत्या गर्ने प्रयास गरिन् । जीवनदेखि थाकेर उनी एक दिन एउटा तारेभीरको टुप्पामा पुगिन् । किनभने त्यस गाउँमा यसभन्दा ठूलो डरलाग्दो भीर अर्को थिएन । त्यस भीरको टुप्पामा पुगेर उनले आफ्नो पछयौरीले आँखा छोपिन् र हाम्फाल्ने प्रयास गरिन् । तर उनको छैटौँ चेतनाले उनलाई हामफाल्नबाट रोक्यो । उनी घर फर्किन् । तर उनी घरमा गएर बस्न नसक्ने अवस्थामा थिइन् । त्यसपछि उनी आफ्नी हजुरआमा भए ठाउँ गइन् । त्यतिखेर यिनकी हजुरआमा काठमाडौं आउन ठिक्क परेकी थिइन् । त्यति बेला यिनले आफ्नी हजुरआमालाई भनिन् "मलाई पनि लिएर जानुहोस्; यहाँ म बस्न सक्तिनँ । यहाँ बस्ने हो भने म झुन्डिएर मर्छर्ुु" आफ्नी नातिनीको दर्दनाक स्वर सुनेपछि यिनलाई हजुरआमाले आफ्नैसाथ काठमाडौं लिएर आइन् । वास्तवमा गोमा दाम्पत्य जीवनमा गाँसिएपछि लगत्तै आफ्नो घरबाट पाइलो लोटाएर काठमाडौं आएकी थिइन् किनभने पतिका घरमा यिनी काम गर्ने पत्नीका नाउँले मात्र विभूषित थिइन् । यिनको काँधमा आफ्ना सौताहरूले लगाएका र आफूले धान्नै नसक्ने खेतीपाती अनि मेलापातका काम हुन्थे ।
गोमाकी हजुरआमा राणादरबारमा भान्से थिइन् । त्यसैले गोमालाई काठमाडौंमा टिक्न सोचेजस्तो कठिनाइ पनि थिएन । यिनकी हजुरआमाका हृदयमा दिव्यचक्षु थिए । त्यसैले गोमाको पठनपाठनका लागि वातावरण तयार हुन थाल्यो । बिस्तारै गोमा प्रेमराज शर्माका घरमा पुगिन् । शर्माकी पत्नी गुणकुमारीसँग गोमाको मित्रता पनि बढ्न थाल्यो । त्यसपछि यी दुवै जना सँगसँगै पढ्न थाले । त्यहाँ गएर यिनीहरूलाई सिद्धिचरण श्रेष्ठले पनि पढाए ।
सिद्धिचरण श्रेष्ठले गोमालाई पढाउने क्रममा उनले गोमाको जीवनी पनि पढ्न थाले । उनी गोमाको साहसलाई धन्यवाद दिन्थे । त्यति मात्र होइन; पछि उनले गोमालाई बिनापैसा नै पढाउन थाले । उनी गोमालाई शिक्षा दिनु एउटा अपरिहार्य आवश्यकता ठान्थे । वास्तवमा सिद्धिचरण श्रेष्ठ गोमालाई बिछट्टै माया गर्थे । गोमा पनि सिद्धिचरणलाई प्रेमपूर्वक आदर गर्थिन् । सिद्धिचरणले गोमाप्रति गहिरो झुकाव राखेर, माया बर्साएर र आस्था बाँधेर कविता पनि लेखे । त्यस बेला सो कविताले धुमधाम हल्ला पनि मच्चाएको थियो । त्यो कविता पढेर गोमा पनि दङ्ग परेकी थिइन् 
                                            
जाऔं गोमा ! त्यस शैलमहाँ,
                                             पीर कुनै पनि उठ्तैन जहाँ ।
गोमाले २०१७ सालमा आफ्नी छोरी गार्गीसँग एस.एल.सी. दिइन् । त्यतिखेर छोरी दोस्रो श्रेणीमा र आमा तेस्रो श्रेणीमा एसएलसी पासभएका थिए । एसएलसी पास भएपछि गोमाको संसार फेरि रङ्गीन हुन थाल्यो । अर्थात् सो परीक्षा पासभएपछि उनका जीवनपद्धतिमा नौला बाटाहरू खुल्न थाले ।
गोमाले आफूलाई २००४ सालदेखि शिक्षिका रूपमा होमेकी थिइन् । स्कुलमा पढाउन थालेको अर्को वर्षनै उनले छोरी पाएकी थिइन् । त्यसपछि पढाएर कमाएको खर्चले उनलाई छोरीसहितको जीवन धान्न महाभारत नै भएको थियो । त्यतिखेर उनी पाटनको एउटा प्राथमिक स्कुलमा पढाउँथिन् । उनले त्यहाँ छ वर्षपढाइन् । त्यसैताका उनको सर्म्पर्क अनार श्रेष्ठसँग बढयो । अनार श्रेष्ठ गोमाका विद्यार्थी थिए । त्यतिन्जेलसम्ममा गोमाको आर्थिक अवस्थाबारे पनि अनार श्रेष्ठले अवलोकन गरिसकेका थिए ।
गोमालाई अनार श्रेष्ठले अत्यन्तै श्रद्धा गर्थे । त्यसैले उनले राजदरबारमा कार्यरत आफ्ना दाजुमार्फ श्री ५ त्रिभुवनमा गोमाको बिन्तीपत्र पुर्‍याए । गोमाको बिन्तीपत्रमा जागिर पाउँ भन्नेबारे लेखिएको थियो । २०१० सालमा राजा त्रिभुवनको हुकुमप्रमाङ्गीबाट गोमा स्वास्थ्य मन्त्रालयमा पुगिन् । त्यतिखेर उनी त्यहाँ टाइपिस्टका रूपमा प्रवेश भइन् । त्यस जागिरले गोमालाई बचाउनु बचायो, पाल्नु पाल्यो र सघाउनु सघायो । खास गरेर आफ्नी छोरी गार्गीको शैक्षकि योग्यतालाई लिस्नो चढाउन उक्त जागिरले भरथेग गरेको थियो । उनी त्यहाँ २०२२ सालसम्म बसिन् र मुखिया पदबाट स्वैच्छिक अवकाश लिइन् ।
जीवन भोग्ने क्रममा गोमा केही थप राहत पाउन सक्ने सम्भावनाको खोजीमा नै लडीबुडी गरिरहिन् । परिणामस्वरूप गोमाले २०२२ सालमा पुनः आफूलाई शिक्षकिामा सरिक गराइन् । उनी त्यतिखेर रानीपोखरी संस्कृत पाठशालामा नियुक्त भइन् । पछि उनी त्यहाँबाट सहिद शुक्र हाईस्कुलमा सरुवा भइन् । २०४४ सालदेखि उनले शिक्षिकको पदबाट पनि अवकाश लिइन् ।
जतिसुकै भौतिक दुक्ख पाए पनि र जतिसुकै मानसिक कष्ट खेपे तापनि गोमा नेपाली साहित्याकाशमा अमर भइन् । 'शारदा' कालीन कवयित्रीका रूपमा उनले थप मर्यादा पाइरहिन् । उनको योगदानले नेपाली भाषासाहित्यको आँगन ढाकिरहृयो ।
व्यक्तिगत रूपमा गोमा अत्यन्तै असल थिइन्, सोझी पनि त्यस्तै थिइन् र नरम पनि थिइन् । उनी आँखामा हाल्दा पनि नबिझाउने लालगेडी थिइन् । उनको वैयक्तिक विनम्रताको सबैले तारिफ गर्थे । उनी जति सानी हुन खोज्थिन् त्यति नै महान् पनि थिइन् । त्यति मात्र होइन; उनी नेपाली साहित्यकी एउटी स्वनामधन्य नारीस्रष्टा थिइन् ।
एक्लो जीवन भोग्दै जाँदा २००५ सालमा गोमाका कोखबाट गार्गीको जन्म भयो । छोरी गार्गीको जन्मपछि मात्र उनले जीवन बाँच्ने साहस पाइन् । तिनै छोरीको सुख, समृद्धि र उन्नतिका लागि गोमा भित्रभित्र जति जले पनि बाहिरबाहिर हाँसीहाँसी हिँडिरहिन् ।
गोमाले नेपाली भाषासाहित्यको दीर्घसेवा गरेबापत प्रबल गोरखा दक्षिणबाहु, वीरेन्द्रऐर्श्वर्य सेवापदक, गद्दी आरोहणको रजत महोत्सव पदक, रत्नश्री स्वर्णपदक पाइन् । त्यसै गरी उनले यस फाँटमा समर्पित भएबापत मैना पुरस्कार, लोकप्रियादेवी पुरस्कार, असीम पुरस्कार, सिद्धिचरण पुरस्कार, बाबाओमवीरसिंह पुरस्कार, बडाकाजी पुष्पराज सम्मान र सरस्वती सम्मान पनि पाइन् ।
नेपाली भाषासाहित्यको सेवामा सक्रिय रूपमा समर्पित हुँदाहुँदै गोमाले पृथ्वी छाडिन् । त्यो दिन उनी दिनभरि लेखापढी गरेर बसेकी थिइन् । साँझमा पनि घरधन्दा र लेखापढीमा लागिरहेका बेला उनको अचानक हृदयगति बन्द भयो । २०५९ साल साउन १४ गते मङ्गलबार बेलुका ९.३० बजे उनी स्वर्ग गइन् ।
 
प्रस्तुति
नरेन्द्रराज प्रसाई