नइ प्रकाशन
»  नइ खराबाट ६ जना पुरस्कृत   »  देशविदेशका नौ जनालाई पुरस्कार   »  नेपाल-भारतका ६ जना स्रष्टा पुरस्कृत   

समकालीन कविता

 
 

 

 

 प्रेमपत्र
विजयाश्री

 
वसन्त ऋतुसँग आएको
आजको साँझ दिँदैछु म
रङ्गाइदेऊ तिमी
मेरा गीतहरु त्यतै छन् ।
 
केही व्यक्त गर्न खोज्दैछु
अपरिपक्क यी अपुग भए
पूर्ण विराम तिमी नै हौ
मेरा भावनाहरु त्यतै छन् ।
 
तिमी छैनौ तिम्रो पन छ
तैपनि पर्याप्त छैन
प्रतिबिम्व प्रतिबिम्वित छ
सार्थक हुनै सकेन
त्यसैले तिमीलाई म
मेरा यादहरु दिदैछु
समेटी देऊ तिमी
मुटुभरी अनि आँखाभरी
मेरा दृष्टिहरु त्यतै छन् ।
 
तिमी अत्तासियौ कि
भैगो
ती चिसा रातहरु लम्बिदैनन् 
छोपिदेऊ परेलीहरु
मेरा सपनाहरु त्यतै छन् ।
 
कतै अल्मलियौ कि दोबाटोमा
हेर लक्ष्य प्रतिबिम्वित छ
टाढिएको छौनौ तिमी
मेरा यात्राहरु त्यतै छन्
एकाङ्की पनसँग जुझ्दै जाउ तिमी
मेरा अस्तित्वहरु त्यतै छन् ।
 
आँखाभरी नियाल त
मनभरीका माया त्यतै छन्
सुन्यौ के
मुटुको स्पन्दनहरु त्यतै छन्
शुभ विजयाको शुभकामना
मेरा स्पर्सहरु तिमीसँगै छन् ।
 
००००००००००००००००००००००००००००० 
कवयित्रीको छोटो परिचय 
 
विजयाश्री

शिक्षा
एमएस्सी, पीएचडी (बायोटेक्नोलोजी)

सहप्रध्यापक
त्रिभुवन विश्वविध्यालय
 
pant_bijaya@yahoo.com